
मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको “प्रमुख कारण बन्नु चिन्ताको विषय भएको” अधिकारी र जनस्वास्थ्यविद्हरूले बताएका छन्।
नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका कारणमा यस्ता रोगको प्रतिशत बढिरहेको देखाएकाले यो चिन्ताको विषय भएको उनीहरूको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले नेपालको यस्तो अवस्थालाई “सुषुप्त महामारी” भनेका छन्।
जनस्वास्थ्यविद्का बुझाइमा नसर्ने रोगको प्रकोप बढ्नुमा मानिसहरूको जीवनशैलीका साथै “रोकथामको साटो उपचारमा केन्द्रित हुने सरकारी नीति” जिम्मेवार छन्।
